काभ्रेपलाञ्चोक । गएको असोज दोस्रो हप्ता बाढी पहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि काभ्रेको रोशी गाउँपालिकाले बल्ल अस्थायी आवास निर्माण थालेको छ ।
बाढी पहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो । चार सय ८२ घरमा पूर्ण रूपमा तथा आठ सय ८३ घरमा आंशिक क्षति पुगेको थियो ।
चिसो बढ्दै गएपछि बाढी पहिरो पीडित अझ प्रभावित हुने भएपछि झन्डै तीन महिनापछि पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार वडा नम्बर २ बाट अस्थायी आवास निर्माणको काम शुरू गरिएको हो । यस वडामा ३० वटा अस्थायी आवास निर्माण हुनेछ ।
विभिन्न सहयोगी संस्थाको साझेदारीमा विपद् पीडितको अस्थायी आवास निर्माण भइरहेको अध्यक्ष लामाले बताए । स्थानीय स्रोत, साधन प्रयोग गरी अस्थायी आवास निर्माण भइरहेको हो ।
वडा नम्बर २ मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट स्वीकृत मापदण्डअनुसार नै अस्थायी आवास निर्माणको काम भइरहेको छ ।
यस्तै व्यक्तिगत सहयोगमा वडा नम्बर ९ नार्के तथा आसपास ३० अस्थायी आवास निर्माणको काम भइरहेको छ ।
प्रतिक्रिया