नगर प्रहरी आउँदा सरसामान लुकाएर भाग्नुपर्ने आतङ्क ठीक होइन : प्रधानमन्त्री ओली

नगर प्रहरी आउँदा सरसामान लुकाएर भाग्नुपर्ने आतङ्क ठीक होइन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसमा अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

उनले जनप्रतिनिधिले शासक र हाकिम हुँ भन्ने खालको प्रवृत्ति बिर्सनपर्ने बताए । ‘नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतङ्कमा रहनुपर्ने अवस्था हुनु हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीव्रताका साथ अगाडि बढ्नुपर्छ ।’