मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन



मनाङ । निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन भएको छ ।

प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको समन्वय र प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा आयोजित भेलाले प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरेको हो । एक सय ३५ मेगावाटको आयोजना विना अवराेध सम्पन्न गर्नु जिल्लावासीको कर्तव्य भएको प्रदेशसभा सदस्य गुरुङले बताउनुभयो ।

आयोजनाले मनाङवासीका लागि कोभिड–१९ को बेला र बाढी पहिरोको समयमा सहयोग गरेको र अहिले पनि बेँसीसहर–चामे सडकको स्तरोन्नति गरिरहेको जनाएको छ । आयोजना निर्माणसँगै निर्माण पक्षले लमजुङको खुदीबाट कोतोसम्म ५० किलोमिटर सडक स्तरोन्नति र साँघुरो ठाउँहरूमा सडक विस्तार शुरू गरेको छ ।

सहजीकरण समितिमा नासोँ र चामे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रभावित वडाका वडाध्यक्ष, मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीका पाँच जना प्रतिनिधि, जिल्ला समन्वय समितिका महिला सदस्य, जिल्लाका सुरक्षा निकायका प्रमुख सदस्य छन् ।