मुग्लिन–पोखरा सडक विस्तारका लागि दोस्रो पटक म्याद थप

मुग्लिन–पोखरा सडक विस्तारका लागि दोस्रो पटक म्याद थप



तनहुँ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्गलाई विस्तार गर्ने काम भइरहेकामा जामुनेदेखि पोखरासम्मको खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो ।

पश्चिम खण्डको म्याद आउँदो वर्ष २०८२ पुस १६ गतेसम्मका लागि थप भएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सौजन्य नेपालले जानकारी दिनुभयो । पश्चिम खण्डमा वि.सं. २०७८ जेठ २ गते सम्झौता भएर वि.सं. २०७८ भदौ १२ गतेदेखि काम शुरू भएको थियो ।

यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । वि.सं. २०८१ भदौ १२ गतेसम्म म्याद रहेकोमा त्यस अवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलो पटक एक सय एक दिनका लागि म्याद थप भएको थियो । दोस्रो पटक थपिएको म्यादभित्र निर्माण कम्पनीले काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

अहिलेसम्म यो खण्डमा ३४ दशमलव ९४ प्रतिशत भौतिक प्रगति भएको छ । अहिलेसम्म २३ दशमलव ९१ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये ५ दशमलव ४५ किलोमिटर दुईतर्फी र १८ दशमलव ४६ किलोमिटर एकतर्फी कालोपत्र भएको छ ।

पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । यो खण्डमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटा पुल सम्पन्न भएका छन् ।

सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचना स्थानान्तरण कार्यका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरणको काम भइरहेको छ ।