काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ । विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । सभापति चालिसेले विधेयकमाथिको संशोधन प्रतिवेदन दुई दिनभित्र तयार पार्न समिति सचिवालयलाई निर्देशनसमेत दिएका छन् ।
राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा छजना सांसदको संशोधन प्रस्ताव परेको थियो । सांसदहरू रणेन्द्र बराइली, निशा डाँगी, दामोदर पौडेल बैरागी, माधव सापकोटा, सोबिता गौतम र प्रेम सुवालले संशोधन प्रस्ताव हालेका थिए । संशोधनकर्तामध्येका सांसद सुवाल र डाँगी समितिमा छलफलका लागि उपस्थित नभएको पनि सभापति चालिसेले जानकारी दिए ।
कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानूनी व्यवस्था समयानुकूल बनाउन आवश्यक भएको भन्दै अर्थ मन्त्रालयले विसं २०८० फागुन ४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल तथा अमूर्त सम्पत्तिउपरको दायित्व परिपालना गर्ने गराउने व्यवस्था गर्न हाल सुरक्षित कारोबार ऐन, २०६३ कार्यान्वयनमा छ ।
प्रतिक्रिया