परराष्ट्रमन्त्री डा. राणा रित्तो हात फिर्ता

परराष्ट्रमन्त्री डा. राणा रित्तो हात फिर्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुस अन्तिम साता भारत भ्रमण गराउन सकिन्छ कि भन्ने प्रयास गरेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज सोमबार स्वदेश फर्किदै छन् । तीनवटा उद्देश्य लिएर पुस ६ गते जर्मनीबाट दिल्ली हानिएकी मन्त्री राणाको दुईवटा उद्देश्य पूरा भए पनि मूल उद्देश्यमा भने ठेस लागेको छ ।

काठमाडौं विश्वविद्यालय र भारतको इको फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा मूल वक्ताको रुपमा डा. राणालाई निम्त्याइएको थियो । गत शुक्रबार सम्पन्न कार्यक्रममा मन्त्री डा राणाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरुसँग थप उडानका लागि आग्रह पनि गरेकी थिइन ।

दोस्रो उद्देश्य उनको स्वास्थ्य उपचार थियो । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षण गर्ने उनको दोस्रो उद्देश्य थियो । त्यो उनले शनिबार र आइतबार पूरा गरिन् ।

मूल उद्देश्य पूरा हुने सम्भावना देखिएको भए मन्त्री राणा पुस १० गते मात्र नेपाल फर्किने कार्यक्रम थियो । त्यो सम्भावना नदेखिएपछि शनिबार र आइतबार स्वास्थ्य परीक्षणका लागि उनी एपोलो अस्पतालमा भर्ना भइन् । र आज सोमबार साँझ नेपाल फर्किकी हुन् ।

त्यसभन्दा अगाडि मन्त्री राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटेर प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे कुरा राख्ने तयारी गरिएको थियो । दिल्ली उत्रनेवित्तिकै मन्त्री राणाले दूतावासमार्फत् नेपाल डेक्स हेर्ने मनु महवारमार्फत् कुरा अगाडि बढाइएकी थिइन । दिल्लीस्थित नेपाली दूतावासले सोही साँझ मन्त्रीको सम्मानमा रात्रिभोज आयोजना गरेको थियो । उक्त भोजमा एमाले उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि देखापरेका थिए ।

भारतीय विदेश मन्त्रालयका कुनै पनि कर्मचारीले मन्त्री राणासँग भेट्न मानेनन् । विदेशमन्त्री जयशंकरले त यो कुरा सुन्न पनि चाहेनन् । त्यसैबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कुवेत भ्रमण परेको थियो । प्रधानमन्त्रीसँगै विदेशमन्त्री जयशंकर पनि कुवेत भ्रमणमा गए । भारतीय उच्च अधिकारीहरुसँग भेट नपाएपछि मन्त्री राणा अस्पताल भर्ना भएकी थिइन् ।

भारतीय प्रधानमन्त्री मोदीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नातिनी स्मिता दाहालको विवाहमा समेत शुभकामना पठाएका थिए । भारत भ्रमणका लागि छटपटाइ रहेका प्रधानमन्त्री ओलीलाई चिढ्याउन छोरी गंगा दाहालले विवाह सम्पन्न भएको ३ दिनपछि उक्त शुभकामना पत्र सामाजिक सञ्जालमा राखेकी थिइन् ।

चाइना भ्रमणबाट मंसिर २० गते फर्किदा प्रधानमन्त्री ओलीले आफू छिट्टै भारत भ्रमण जाने बताएका थिए । एक कूटनीतिज्ञका अनुसार प्रधानमन्त्री ओलीप्रति भारत सकरात्मक नदेखिएको परराष्ट्रमन्त्री राणाको भारत भ्रमणले पुष्टि गरिसक्यो ।