भक्तपुरमा बाबुछोरा हत्या प्रकरण: जेठो छोरा पक्राउ

भक्तपुरमा बाबुछोरा हत्या प्रकरण: जेठो छोरा पक्राउ



काठमाडौं । भक्तपुरमा खोटाङका कुलप्रसाद आचार्य र उनका छोरा प्रविणको हत्या घटनामा प्रहरीले कुलबहादुकै जेठो छोरालाई पक्राउ गरेको छ । मंगलबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुलबहादुरको जेठो छोरा मिलन आचार्यलाई पक्राउ गरेको हो ।

खोटाङको दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद र उनका कान्छो छोरा २२ वर्षीय प्रविण सोमबार (हिजो) मृत फेला परेका थिए ।

गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए । उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो ।

बालकोटस्थित एक घरमा दाजुभाइ मिलन र प्रविण कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरूलाई भेट्न कुलप्रसाद केही दिनअघि मात्र खोटाङबाट आएका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा मिलन शनिबार राति कोठाबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको थियो । उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो । प्रहरीले उनीमाथि सोधपुछ गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या स्वीकार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए ।