काठमाडौं । पुनर्निर्माणपछि धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत ५५ लाख रुपैयाँ संकलन भएको छ । गएको मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमवारसम्ममा टिकट बिक्रीबापत ५५ लाख रुपैयाँ रकम संकलन भएको हो ।
कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधवार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सय जनाले धरहरा चढ्ने गरेका जानकारी दिए । उनका अनुसार मङ्सिर ९ गतेदेखि अहिलेसम्म ३१ हजार जनाभन्दा धेरैले धरहरा चढिसकेका छन् जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्यांक राख्ने गरिएको छैन । बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । पछिल्लो समय छिमेकी देशका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् ।
धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो । गएको मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।
धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रे गाडीका लागि प्रतिघण्टा २० र दुई पाङ्गे्रका लागि १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ । यस्तै व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया