एमाले सचिवालयः अध्यक्ष ओलीको किनाराका साक्षी मात्र

एमाले सचिवालयः अध्यक्ष ओलीको किनाराका साक्षी मात्र



काठमाडौं । ‘छोरी कुटेर बुहारी तर्साउने’ काम एमालेमा हिजो बुधबार पुनः दोहोरियो । एमाले पार्टी अर्थात् म अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिनेको के हालत हुन्छ भन्ने देखाउन पार्टीका पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई कारबाही गरेर अरुलाई तर्साउने काम भयो ।

पाण्डे र तिमल्सिनालाई सामान्य कारबाही गरियो । कारबाही सामान्य भए पनि यसले उनीहरुको राजनीतिक जीवनमा दूरगामी असर राख्ने एमाले एक केन्द्रीय सदस्यले बताए । उनले भने, ‘पार्टी अध्यक्ष ओलीको आँखामा बिझाउने भएपछि उस्काे राजनीतिक भविष्यमा लगभग पूर्णविराम लागेजस्तै हो ।’

एमालेको १० औं महाधिवेशनमा अध्यक्ष ओलीका प्रतिस्पर्धी रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी मिल्काएका छन् । महाधिवेशन लगत्तै रावलप्रति अछुतको व्यवहार गरेका अध्यक्ष ओलीले यतिसम्म गर्छन् भन्ने सायदैलाई लागेको थियो ।

कारबाहीको सिलसिला जोडिएको हिजो सम्पन्न एमाले सचिवालय बैठक रोचक देखियो । केन्द्रीय कमिटीको बैठक आह्वान र ३ जनालाई कस्तो कारबाही गर्ने भन्ने छलफलको एजेन्डा थियो । तर, रावललाई साधारण सदस्यबाटै फाल्ने पूर्व तयारी ७ जनाबाहेक अरु कसैलाई थाहा थिएन । बोल्न इच्छा हुनेहरुले बोलिसकेपछि महासचिव शंकर पोखरेलले अनुशासनको व्याख्यासहितको निर्णय सुनाएका थिए ।

१९ सदस्यीय सचिवालयमध्ये टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् । बाँकी १८ जना तीन भागमा विभाजित भएको देखियो । अध्यक्ष ओलीको अन्धभक्त, अस्पष्ट र मलिन स्वरमा विरोध गर्ने तथा कुरा चपाए बोल्नेमा उनीहरु विभाजित भएका थिए । अन्धभक्तमा ७ जना, अस्पष्टमा बोल्नेमा ६ जना र कुरा चपाएर बोल्नेमा ४ जना रहेका छन् ।

अध्यक्ष ओलीको अन्धभक्तमा उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र सचिव रघुवीर महासेठ रहेका छन् । कुनै निर्णय लिनु परे यी सात जनासँग अध्यक्ष ओलीले परामर्श गर्छन् ।

विरोध गरेजस्तो पनि गर्ने तर मलिन स्वरमा बोल्न खोज्नेहरुमा उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई र गोकर्ण बिष्ट रहेका छन् । उनीहरु विरोध गरेजस्तो मात्र गर्छन्, तर अध्यक्ष ओलीसँग नजर जुधाएर तर्क राख्न सक्दैनन् । अध्यक्षज्यू रिसाउने हो कि भन्ने डर उनीहरुको मनमा सधैं हुन्छ ।

कुरा चपाएर बोल्ने, एजेन्डाबाहेक अन्य विषयमा बोलेर समय सक्नेहरुमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल, सचिव लेखराज भट्ट र छविलाल विश्वकर्मा हुन् । महिला कोरम पु-याउनका लागि सहभागिता गराइएकी पद्मा अर्याल सचिवालयको नमूना हुन् । यो निर्णय भयो भने पार्टीलाई यसरी फाइदा वा क्षति हुन्छ भनेर अध्यक्ष ओलीका अगाडि उनीहरु तर्क गर्न सक्दैनन । सम्भवतः बैठकमा उनीहरुको सहभागिता कोरम पु-याउनका लागि मात्र हो भन्दा अतिशयोक्ति हुँदैन ।