सकियो रविको बयान, सबैको बयान सकिएपछि मात्र थुनछेकको बहस

सकियो रविको बयान, सबैको बयान सकिएपछि मात्र थुनछेकको बहस


ग्लोब नेपाल
864
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा बयान सकिएको छ ।

दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबारबाट सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन् । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो ।

हालसम्म उक्त सहकारी ठगी प्रकरणमा छविलाल जोशी, लीला पछाईं र रविको बयान सकिएको उनले जानकारी दिएका छन् । अब नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ । कृष्णबहादुर बिरामी परेकाले उनको बयान अदालतमा नहुनसक्ने प्रहरी स्रोतले जानकारी दिएको छ ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ ।