काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख पिएल सिंह मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो भनेका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३औँ पुण्यतिथिमा आज भएको श्रद्धाञ्जलीसभामा पूर्वप्रधानमन्त्री देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा उनी समकालीन नेताहरूमा धेरै अगाडि रहेको बताए ।
सभापति देउवाले प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध उहाँले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौँवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको बताए ।
नेपाली काँग्रेसको संस्थागत साङ्गठनिक विकासमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै स्वर्गीय सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई आह्वान गरे ।
विसं २०५२ मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई पिएल सिंहको नेतृत्वमा महानगरपालिका घोषणा गरिएको थियो ।
प्रतिक्रिया