काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको बताएका छन । आज आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । साथै, उनले अहिले नेपाली कांग्रेससँग बनेको सरकार गठबन्धन नभइ समीकरण भएको पनि बताएका छन ।
उनले भने, ‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए । त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो ।’
उनले नेकपा एमाले र अहिलेकै समीकरणले देश विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने दाबी पनि बताएका छन । उनले भने, ‘हामीले त्यतिबेला सुरु गरेर बिजोग भएका कामहरू फेरि अघि बढाएका छौं । ती कामहरू गर्न अग्रसर छौं ।
विश्वास गर्नुस्, नेकपा एमालेले गर्छ, एमालेको नेतृत्वले गर्छ । अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेसको छ । यसले गर्छ । किनभने देशको राजनीति अत्यन्त अस्थिर भयो,’ ओलीले प्रश्न गर्दै भने, ‘ठूला पार्टीका बीचमा झगडा लगाउने, अनि अनेक खालका षड्यन्त्रकारी र भ्रष्ट तत्वहरूले राज गरिरहने भयो । एउटाको काँधबाट अर्काको काँधमा उफ्रने, अनि राज गरिरहने ?’
प्रतिक्रिया