वामदेव कहिले बन्लान् प्रधानमन्त्री !

वामदेव कहिले बन्लान् प्रधानमन्त्री !

‘यो विषय मलाई नसोध्नू, उतै सोध्नू । टार्ने काम मात्र भइरहेको छ ।’



काठमाडौं । वामदेव गौतमलाई जसरी भए पनि प्रधानमन्त्री बन्नु छ । नेकपा एकता राष्ट्रिय अभियानका उनी संयोजक हुन् । यो अभियानबाट उनले प्रधानमन्त्री बन्न सम्भव नदेखेपछि कम्युनिष्ट राजनीतिक दलको खोजीमा लागेका छन् । पहिले एमालेमा प्रवेश गर्न खोजेका थिए । गौतमले एमालेमा प्रवेश गर्ने चाहना सार्वजनिक रुपमा नै राखेका थिए ।

एमाले अध्यक्ष केपी ओलीले गौतमलाई जोक्कर मात्र बनाए तर पार्टी प्रवेश गराएनन् । एमालेमा प्रवेश गर्ने ढोका बन्द भएपछि गौतम एकीकृत समाजवादीमा प्रवेश गर्न तयार भए । समाजवादी समेत गौतमलाई पार्टी प्रवेश गराउने वा नगराउने स्पष्ट भइसकेको छैन ।

पूर्वउपप्रधान एवम् गृह, रक्षामन्त्रीसमेत भइसकेका गौतमले प्रधानमन्त्री बन्ने जीवनको अन्तिम इच्छा भन्दै आएका छन् । गौतम अहिले राष्ट्रिय सभाका सदस्य हुन् । संविधान संशोधन गरेर राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँने व्यवस्था गर्नुपर्ने अभिव्यक्ति उनले सार्वजनिक रुपमा दिदै आएका थिए ।

विभाजनको धरापमा उभिएको समाजवादीमा वामदेवलाई प्रवेश गराउन माधवकुमार नेपाल सक्रिय भएका थिए । माधव नेपाल, झलनाथ खनालपछिको मर्यादाक्रम दिएर पार्टीमा जिम्मेवारी दिनेबारेमा आन्तरिक सहमतिसमेत भएको थियो । त्यसलाई औपचारिकता दिन दुवै पक्षबाट वार्ता समितिसमेत बनेको थियो । समाजवादी पार्टीमा प्रवेश प्रसँगमा नेता गौतमले शुक्रबार एउटा कार्यक्रममा भने, ‘यो विषय मलाई नसोध्नू, उतै सोध्नू । टार्ने काम मात्र भइरहेको छ ।’

एमाले र माओवादी केन्द्र पुनर्गठन भएर नेकपा बन्दा गौतम कुनै दलमा नलागी स्वतन्त्र बसेका थिए । पछि नेकपा विभाजन भयो । उनले विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई पुन एकीकृत गर्दै नेकपा बनाउने प्रयास गरे । उनको अभियान सफल हुन सकेन ।

अभियान असफल भएपछि एमालेमा प्रवेश गर्ने गौतमकाे चाहना केपी शर्मा ओली हुञ्जेल लगभग अन्त्य भएको छ । एमालेमा प्रवेशको ढोका बन्द भएपछि समाजवादीमा जतिसक्दाे छिटो छिर्न चाहन्छन् । तर त्यो पनि सम्भावना कमजोर बन्दै गएको छ । उनलाई तेस्रो मर्यादाक्रममा राख्न महासचिव घनश्याम भुषाल बाधक बनेका छन् । समाजवादीमा प्रवेश गर्ने गौतमको चाहनामा अवरोध सिर्जना हुने देखिएको छ ।