म्याग्दी । अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरूको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
अनुसन्धानकर्ता गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक सिल्वाल, वासुदेव बराल र डा. विनोद अधिकारीको टोलीले ‘द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटी अन रेनफल इन नेपाल : अ केस स्टडी’ शीर्षकमा गर्नुभएको अध्ययनको प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नल ‘एड्भान्सेस इन स्पेस रिसर्च’मा प्रकाशित भएको हो ।
जल तथा मौसम विज्ञान विभागको सन् १९६८ देखि सन २०२३ सम्मको पोखरा र काठमाण्डौको मासिक वर्षाको तथ्याङ्कहरूलाई सौर्य गतिविधिको सम्बन्धलाई आधार मानेर अध्ययन गरिएको अनुसन्धानकर्ता गौतमले बताए ।
अध्ययनले नेपालका दुई शहर पोखरा र काठमाडौंको मासिक वर्षा र सौर्य गतिविधिबीचको सम्बन्धलाई वैज्ञानिक दृष्टिले प्रमाणित गरेको उनको भनाइ छ । सौर्य गतिविधि र वर्षाको प्रवृतिमा ११ वर्षे दीर्घकालीन समानता पाइएको पनि उनले बताए ।
११ वर्षको सौर्य चक्रको असर वर्षामा पर्ने र यो तथ्यलाई आधार मानेर वर्षाजन्य विपद्को जोखिममा रहेका ठाउँमा पूर्वसतर्कता अपनाउन सहयोग पुग्ने अनुसन्धानकर्ता गौतमले बताए ।
उनका अनुसार विश्वका विभिन्न देशहरूमा सौर्य गतिविधि र वर्षाका बीचको सम्बन्धबारे अनुसन्धान भए पनि भौगोलिक विविधतायुक्त नेपालमा यो विषयमा भएको वैज्ञानिक प्रमाण सीमित थिए । यसैले यो अध्ययन प्रतिवेदन नेपालका लागि सान्दर्भिक र महत्त्वपूर्ण मानिएको छ ।
सूर्यको विकरणमा हुने परिवर्तन, ‘सनस्पट’ चक्र र सौर्य वायुको उतारचतावले पृथ्वीको जलवायु प्रणालीमा महत्त्वपूर्ण प्रभाव पर्न सक्ने विश्वका अरू देशहरूमा भएका पुराना अध्ययनहरूले प्रमाणित गरेको छ ।
वायुमण्डलीय परिसञ्चालन, बादल निर्माण र वर्षाका ढाँचाहरूलाई प्रभावित पार्ने प्रतिवेदनमा उल्लेख छ । ‘क्रस वेभलेट ट्रान्सफर्म’ अध्ययन प्रविधिको प्रयोग गरेर तथ्याङ्कको अध्ययन र विश्लेषण गरिएको हो ।
नेपालमा सौर्य गतिविधिले जलवायु प्रणालीमा पार्ने प्रभावको महत्त्व उजागर गरेको यस अध्ययन प्रतिवेदनले सौर्य गतिविधि र जलवायु परिवर्तनबीचको अन्तरसम्बन्ध पहिचान गर्न आधार सिर्जना गरेको छ ।
सौर्य गतिविधिलाई नेपालमा जलवायु परिवर्तन अध्ययनको एक महत्त्वपूर्ण कारकका रूपमा स्थापित गरेको छ । यसले नेपालको वैज्ञानिक समाज र जलवायु व्यवस्थापनसम्बन्धी रणनीतिहरूमा नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया