कर्णालीको अदुवा र बेसार युरोप निर्यात

कर्णालीको अदुवा र बेसार युरोप निर्यात


ग्लोब नेपाल
216
Shares

सुर्खेत । कर्णालीका विभिन्न जिल्लामा उत्पादन भएको अदुवा युरोपसम्म पुग्न थालेको छ । युरोपबाट माग आएपछि किसानले अदुवासँगै बेसार पनि विदेश निर्यात गर्न थालेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका कालिदमारमा रहेको ‘द अर्गानिक भ्याली’ ले किसानबाट खरिद गरेको अदुवा र बेसारलाई प्रशोधन गरेर युरोपसम्म निर्यात गरिरहेको छ ।

उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशबाट अदुवाको माग धेरै आउने गरेको छ । कर्णालीमा उत्पादन हुने अदुवा विषादीरहित, अर्गानिक र गुणस्तरीय भएकाले युरोपबाट यसको माग बढी आइरहेको उद्योगका सञ्चालक समिर नेवाले बताएका छन् ।

उनका अनुसार जर्मनीबाट समेत अदुवाको माग आइरहेको छ । किसानबाट मागअनुसार उत्पादन नहुँदा बर्सेनि औसतमा ६ लाख युरोबराबरको अदुवा र बेसार विदेश निर्यात भइरहेको उनले बताए । उनका अनुसार उत्पादन धेरै भएको बेलामा १२ लाख युरोबराबरको अदुवा निर्यात गरेपनि मागअनुसार उत्पादन नहुँदा औसतमा ६ लाख युरोबराबरको अदुवा र बेसार निर्यात हुँदै आएको छ ।

उनले विदेशबाट माग धेरै आएकाले बजारीकरणमा समस्या नभएपनि उत्पादन बढाउन अब स्थानीय सरकारहरुले पनि किसानलाई सहयोग गर्न आवश्यक रहेको औल्याए । उद्योगमा बर्सेनी १५ सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ । उद्योगमा हाल १२ सय मेट्रिकटन अदुवा र ३ सय मेट्रिकटनसम्म बेसार प्रशोधन हुने गरेको कम्पनीको भनाइ छ ।

कर्णालीको अर्गानिक अदुवा र बेसार विषादीरहित शुद्ध उत्पादन हुने भएकाले युरोपबाट माग आइरहेको नेवाले बताए । पहिले यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । तर अहिले सुर्खेतमा रहेको उद्योगले अदुवा र बेसारलाई प्रशोधन गर्न थालेपछि विदेशमा बढी निर्यात हुन थालेको छ ।