पोखरा । कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट सुरु भएको थुनछेक बहसमा रुवावासी चलेको थियो । थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङ रुन थालेपछि इजलास स्तब्ध बनेको थियो ।
जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको पनि नाम आएपछि बररर…. आँशु झारेर उनी रुन थालेका हुन् । उनले आफू निर्दोष रहेको बताएका थिए ।
उनले अदालतमै आफू आत्महत्या गर्नसक्ने समेत बताए । उनकी छोरी तथा पूर्वसांसद मीनासमेत बहस चलिरहँदा रोएकी थिइन् । त्यसपछि केहीबेर इजलास स्तब्ध बनेको थियो ।
८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् । ६२ वर्षीया मीना गण्डकी प्रदेशसभाकी पूर्वसदस्य हुन् । बेलायती परिवारमा हुर्किएकी उनका पति पनि बेलायती पूर्वसैनिक हुन् । इजलास स्तब्ध बनेपछि कार्यालय समय सकिएको र थुनछेक बहस स्थगित गरिएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया