शेरा दरबार भर्सेस गिरिबन्धु टि-इस्टेट

शेरा दरबार भर्सेस गिरिबन्धु टि-इस्टेट



काठमाडौं । नुवाकोटमा रहेको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने तयारी चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तोसराप मात्र गरेनन् आफू सरकारमा पुगेपछि गिरिबन्धु टि-इस्टेटको फाइल खोलेर ओलीलाई जेल हाल्नेसमेत बताए ।

शेरा दरबारको जग्गा माओवादी नेताहरुले कम्पनीको नाममा ल्याएपछि सरकारले फिर्ता गर्ने प्रकृया अगाडि बढाएको छ । यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेटलाई मन्त्रिपरिषद्ले २०७८ साल वैशाख १३ गते ३४३ बिगाहा जग्गा प्रदेश–१ भित्रै सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले बद्मासी गरेको सर्वोच्च अदालतले समेत ठहर गरिसकेको छ ।

१६३ रोपनी १३ आना शेरा दरबारको जग्गा यतिबेला माओवादी नेता विकेश श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फार्मिङको नाममा छ । पृथ्वीनारायण शाहको शितकालीन शेरा दरबार सरकारको नाममा फिर्ता ल्याउनुपर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४ महिना लगाएर गरेको अनुसन्धानमा उल्लेख छ ।

सीआईबीले शेरा दरबारको जग्गा कम्पनीको नाममा लैजाने निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाही गर्न सिफारिस मात्र गरेको छैन, उक्त जग्गा तुरुन्तै फिर्ता गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।

फार्मिङका अध्यक्ष श्रेष्ठ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पूर्व स्वकीय सचिव हुन् । उनी लामो समयदेखि अध्यक्ष प्रचण्डका स्वकीय सचिव भएर काम गरेका थिए । शेरा दरबारभित्र प्रवेश नगरुन्जेल श्रेष्ठ प्रचण्डको नजिक भएर काम गरेका व्यक्ति हुन् ।

शेरा दरबारमा सरकारले आँखा लगाएपछि अध्यक्ष प्रचण्ड रिसले आगो भएका छन् । शनिबार सुदूरपश्चिमको महेन्द्र नगरमा रहेका प्रचण्ड सोमबार एकाएक झापा गौरीगन्ज पुगेका थिए । गौरीगन्ज एमाले अध्यक्ष ओली निर्वाचित क्षेत्र हो ।

आइतबारको कार्यक्रममा विशाल जनसहभागिता गराइएको थियो । भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभा नाम दिएको उक्त कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशकै जाली, झेली, कपटी र बेइमानीको संज्ञा दिएका छन् । कार्यक्रममा प्रचण्डले भने, ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु । जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’

प्रचण्डले बिर्तामोडको गिरिबन्धु टी-इस्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने दाबी गरे ।

प्रचण्डको यो आक्रोश शेरा दरबारमा भएको प्रहारको उपज हो भन्ने कुरा बुझ्न कठिन भएन । भ्रष्टाचार विरोधीको आवरणमा कम्युनिष्ट पार्टीहरु कसरी भ्रष्ट बन्दा रहेछन भन्ने ज्वलन्त प्रमाण हो यो । यो घटनापछि भनिराख्नु परेन– सरकारी जग्गा कम्पनीको नाममा बनाउने माओवादी र मन्त्रिपरिषद्को निर्णयबाट कानुन विपरित गिरिबन्धु टि–इस्टेटको जग्गा साटफेर गर्न दिने एमाले निर्णय दुवै भ्रष्टचारको पर्याय भन्ने हुन भन्ने बुझ्न नेपाली जनताले ढिलो गर्नु हुँदैन ।