भोजपुरमा ग्रामीण सडक विस्तारसँगै कृषि उपजको बजारीकरण सहज

भोजपुरमा ग्रामीण सडक विस्तारसँगै कृषि उपजको बजारीकरण सहज



भोजपुर । भोजपुरमा ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ ।

बजार विस्तारसँगै कृषि उपज बेचेर स्थानीय किसान आर्थिक रुपमा सक्षम बनेका छन् । सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ ।

यो सडकबाट खोटाङ हुँदै काठमाडौं जोडिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन किसानले काठमाण्डौबाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत शहरमा पनि बेच्दै आएका छन् ।

केही व्यापारी धान,मकैलगायतका किन्न गाउँघरमा नै पुग्ने गरेका टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टले बताए ।

यसैबीच जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयवासीलाई आवतजावतमा सहजतासँगै कृषि उत्पादनको बजारीकरण पनि सहज भएको छ ।