काठमाडैं । नेकपा (एमाले)बाट निलम्बनमा परेका नेता डा. भीम रावलले एमालेले संगठित सदस्यबाट हटाएपछि विकल्प खाेज्न बाध्य भएको बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै रावलले एमालेभित्र केपी ओलीका गुटबाट आफू कोपभाजनमा परेको र विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।
‘देशभक्त मूल्य र मान्यतामा हिँड्नेहरु केपी ओली गुटको कोपभाजनमा पर्न थाले । यस्तै कोपभाजनामा पारेर निरंकुश र अन्यायपूर्ण किसिमले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यका रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन । र आज देश र जनताको सर्वोपरी हितका खातिर विकल्पबाट हिँड्न बाध्य भएको छु,’ उनले भने ।
रावलले पाँच दशक काम गरेको पार्टीको घोषित सिद्धान्त विधि र उद्धेश्यविपरीतका काम केपी ओलीबाट भएको र त्यसको आलोचना गर्दा सुध्रिनुको उल्टो आफैले प्रतिगामी भनेकाहरूसँग साँठगाठ गरेको आरोप पनि लगाए ।
उनले एमालेले आफूले पार्टीमा लामो योगदान गरे पनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेका गुनासो गरे ।
‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?,’ रावलको प्रश्न छ ।
रावलले दसौँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको भन्दै ओलीलाई आठौँ र नवौँ महाधिवेशनमा माधव नेपाल र झलनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न किन उठेको भनेर प्रतिप्रश्न गरेका छन् ।
‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो ?’, रावलले भने, ‘तपाई केपी ओली आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको ?’
कुनै ठाउँमा जन्मेको, शिक्षा भएको र कुनै थर भएकोले मात्र अध्यक्षमा उठ्नुपर्ने हो भन्दै रावलले ओलीलाई प्रश्न गरे ।
उनले जनताको हित र सिद्धान्तमा चल्नेलाई पार्टीबाट निकाल्ने, प्रतिनिधि सभाको टिकट नदिने, पार्टीका काममा सहभागी हुन नदिएर ओलीले गुट चलाएको बताए । उनले ओलीको यस्तो शत्रुवत व्यवहार जवजको मान्यता विपरीत रहेको दाबी गरे ।
त्यसक्रममा उनले आफूसँग अन्य नेताहरूसँग छलफल गरेर ओलीसँग पटक पटक वार्ता गर्ने प्रयास गर्दा उनले समय नदिएको समेत बताए । उनले भीम रावलले कुरा गर्न नचाहेको ओलीको भनाइ कुप्रचार गरेको पनि बताए ।
प्रतिक्रिया