काठमाडौं । नेपालमा अहिले सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको संख्या झन्डै डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको संख्या एक लाख ४२ हजार दुई सय २३ छ ।
सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० वटा रहेको छ । त्यस्तै कोशीमा २५ हजार आठ सय ८७, मधेशमा ११ हजार सात सय ४०, गण्डकीमा १६ हजार नौ सय ७६, लुम्बिनीमा २० हजार एक सय ५८ र सुदूरपश्चिममा आठ हजार दुई सय २८ वटा रहेकाे छ ।
अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या तीन लाख ८७ हजार सात सय ४७ रहेको छ । यो होटल तथा रेस्टुरेन्ट व्यवसायमा रहेका व्यवसायी तथा साझेदार, वेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिको संख्या हो ।
यो क्षेत्रबाट प्रत्यक्ष रोजगार पाएका व्यक्तिको संख्या एक लाख ६ हजार चार सय ५९ छ । होटल तथा रेस्टुरेन्टले कर्मचारीको वार्षिक तलब, ज्याला तथा सुविधामा २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा झन्डै दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबर लागत रहेको र झन्डै तीन खर्ब २६ अर्ब एक करोड चार लाख रुपैयाँ बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । यसअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा झन्डै एक खर्ब नौ अर्ब २७ करोड एक लाख रुपैयाँ बराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको देखिन्छ ।
अध्ययन प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा झन्डै पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ ।
यस्ता प्रतिष्ठानमध्ये झन्डै २८ दशमलव चार प्रतिशतले वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१ दशमलव ६ प्रतिशत प्रतिष्ठानले ऋण नलिएको देखिएको छ ।
कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार यो सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटल, रिसोर्ट, गैरतारे होटल, होमस्टेलगायतको अवस्था अध्ययन गरिएको थियो ।
होटलमा रहेको कोठाको संख्या एक लाख १६ हजार एक सय रहेको छ । जसमध्ये स्टार होटलमा आठ हजार चार सय ९६ कोठा, गैरतारे होटल तथा लजमा एक लाख ७५, रिसोर्टमा तीन हजार आठ सय २९ र होमस्टेमा तीन हजार सात सय वटा कोठा रहेको अध्ययनले देखाएको छ ।
अहिले नेपालमा सञ्चालित होटल तथा लजले एकैपटक २२ लाख ३४ हजार आठ सय ५२ जनालाई सेवा दिनसक्ने पनि अध्ययनमा उल्लेख छ ।
प्रतिक्रिया