परिणाममुखी काम गर्न सीडीओ र सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन

परिणाममुखी काम गर्न सीडीओ र सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रूपमा रहेकाले सीमित स्रोत साधनका बीच गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् ।

‘अहिले चुनौतीका रूपमा देखा परेका तीनवटै विषय एकअर्कासित सम्बन्धित छन्,’ उनले भने, ‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।’ सीमामा हुने अपराध, चोरी शिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन आग्रहसमेत गरे ।

मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका काम अघि बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए । ‘शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ,’उनले भने, ‘विकास, स्मृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ ।’