काभ्रे । गएको असोज दोस्रो हप्ताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि नौ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । बाढीपछि गरेको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
बाढी पहिरोले काभ्रेको चौकीडाँडाबाट कालढुङ्गासम्मको आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । सडकमा तीन किसिमका पर्खाल लगाउनुपर्ने देखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । भत्किएको सडकको जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अध्ययन गरेको हो ।
सडकको पुनर्निर्माणको लागि बजेट व्यवस्था भइनसकेको र दातृ निकायहरुसँग छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए । आउँदो फागुनसम्ममा बजेटको व्यवस्था गरेर ठेक्का प्रक्रिया अघि बढाउने तयारी रहेको पनि उनले बताए ।
पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षायाममा गाडी चलाउन कठिनाइ ब्यहोर्नुपर्ने छ । सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार बीपी राजमार्गमा भत्किएको सडक मर्मत गर्न कम्तीमा दुई वर्ष लाग्छ ।
प्रतिक्रिया