काठमाडौं । जारी केन्द्रीय समितिको बैठकमा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई निर्वाचनमार्फत् अध्यक्ष बन्ने आँट छ भनी प्रश्न गरेका छन् । उनले विशेष समय लिएर बैठकमा पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने धारणा राख्दै अध्यक्ष प्रचण्डलाई यस्तो प्रश्न गरेका हुन् ।
उपमहासचिव शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताए । ‘विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको छ । अध्यक्षको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ?’ नेता शर्माले भने ‘अध्यक्ष हामी कसैले दावी गर्ने होइन, प्रचण्ड नै हुने हो ।’
बैठकमा शर्मा खरो रुपमा प्रस्तुत हुँदै उनले भने, ‘चुनिएर आउन किन डराउनुपर्यो, पार्टीलाई प्राइभेट कम्पनीजसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना भइरहेको छ । त्यस्तो आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनुपर्छ ।’
बोल्न अरुलाई ३ मिनेट, जनार्दनलाई १३ मिनेट
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि बोल्न सोमबार १ सय ८० जनाले नाम लेखाएका थिए । प्रत्येकलाई तीन–तीन मिनेटभित्र अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न समय निर्धारण गरिएको थियो । नाम टिपाएकामध्ये सोमबार ८० जनाले निर्धारित समयभित्रै धारणा राखेका थिए ।
आज मंगलबार बिहान ११ बजेबाट पुनः छलफल सुरु भयो । नाम टिपाएका केन्द्रीय सदस्य, पोलिट्ब्युरो, हुँदै स्थायी समिति र अधिकांश पदाधिकारीले खाजा समयअगाडि नै आआफ्ना धारणा राखिसकेका थिए । उनीहरू सबैले ३–३ मिनेटभित्रै आफ्ना कुरा राखे ।
तर, उपमहासचिव जनार्दन शर्माले भने १० मिनेट बढी समय लिए । उनले बोल्ने पालो आएपछि आफ्नाबारेमा प्रश्नहरू उठेकाले तिनको जवाफ दिनुपर्ने र आफूले पनि प्रतिवेदनसहित नेतृत्वसँग जवाफ माग्नुपर्ने भएकाले समय नपुग्ने भन्दै अध्यक्षसँग समय थपको माग गरेका थिए ।
उनको मागअनुसार नै अध्यक्ष प्रचण्डले १० मिनेट थप राख्नुस् भनेपछि शर्माले १३ मिनेटसम्म बोलेका थिए ।
प्रतिक्रिया