चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट ‘चितवन महोत्सव २०८१’ सुरु हुने भएको छ ।
नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । पुष २५ बाट सुरु हुने महोत्सव माघ १० गतेसम्म चल्ने छ ।
महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिइएको छ । आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा समेत राखिएको छ ।
‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ को नारा लिएर सुरु गर्न लागिएको महोत्सवमा यसपटक पर्यटन प्रवर्द्धनलाई जोड दिइँदैछ । अध्यक्ष श्रेष्ठका अनुसार यस क्षेत्रका पर्यटकीय स्थलसम्म जान र आउनका लागि सफारीका व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्नेजस्ता कामहरु गरिने छ ।
अघिल्ला महोत्सवहरुमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरा लगायत उत्पादनलाई प्राथमिकता दिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको हो । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने गरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव स्थलदेखि जिल्लाका विभिन्न पर्यटकीय स्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्न लागिएको छ । पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्यवमा छुटको व्यवस्था समेत गरिने छ ।
प्रतिक्रिया