भुटानकाे चालु आर्थिक बर्षको बजेट १०९ अर्ब

भुटानकाे चालु आर्थिक बर्षको बजेट १०९ अर्ब


ग्लोब नेपाल
0
Shares

थिम्पु । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयका अनुसार बजेटले पूर्वाधार विकास, सार्वजनिक सेवा र आर्थिक वृद्धिमा केन्द्रित रहेको जनाएको छ । मन्त्रालयले तेह्रौँ पञ्चवर्षीय योजनाको दोस्रो आर्थिक वर्षको विकास लक्ष्य हासिल गर्न दिगो योजना र स्रोत प्राथमिकतामा जोड दिएको छ ।

सरकारले आवश्यक बजेट धान्न ८९ अर्ब ३५ करोड सङ्कलन गर्ने अपेक्षा गरेको छ । जसमा कर र देशभित्रको अन्य आम्दानीबाट प्राप्त हुने आन्तरिक राजस्वबाट प्राप्त हुने अनुमानित ६७.२८ अर्ब र अन्य देश तथा संस्थाहरूबाट उपलब्ध गराइने बाह्य अनुदानबाट २२ अर्ब ७ करोड रुपैयाँ समावेश छ।

सरकारलाई अझै २० अर्बको कमी रहेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय स्रोतबाट ऋण लिएर यो वित्तीय घाटा व्यवस्थापन गर्ने अर्थ मन्त्रालयको योजना छ । कुल बजेटमध्ये ५३ अर्ब ७९ करोड सडक, विद्यालय र अन्य पूर्वाधार निर्माणलगायत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ भने ५५ अर्ब ५६ करोडले तलब तथा सार्वजनिक सेवा सञ्चालनको दैनिक खर्चलगायत बेहोर्नेछ ।

बजेट आह्वान सूचनामा अर्थ मन्त्रालयले विपद्बाट क्षतिग्रस्त पूर्वाधारको मर्मत, एम्बुलेन्स र स्कुल बसजस्ता अत्यावश्यक सवारी साधन खरिद गर्ने र दाताको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्ने गरी अर्थतन्त्र र जनतालाई फाइदा पु¥याउने आयोजनालाई प्राथमिकता दिन निर्देशन दिएको छ । । यसले बाह्य कोष र नयाँ कार्यालय भवनहरू मात्र स्वीकृत हुने बताएको छ।

सूचनामा बजेट तयारीका लागि स्पष्ट समयसीमा पनि तोकिएको छ । एजेन्सीहरूले आफ्नो वार्षिक कार्य योजनाहरू अर्को सोमबार र अन्तिम बजेट प्रस्तावहरू मार्च १५ सम्म पेश गरिसक्नु पर्नेछ, जो निश्चित लक्ष्यहरूसँग मिल्दोजुल्दो हुनु पर्ने सर्त राखिएको छ ।

खर्चलाई नियन्त्रणमा राख्न मन्त्रालयले १३ औं पञ्चवर्षीय योजनाको कुल बजेटको २० प्रतिशत मात्रै ठूला आयोजनामा ​​खर्च गर्न सकिने गरी रकमको सीमा तोकेको छ ।