सांसद खतिवडाको पहलमा ओखलढुंगामा यसै वर्ष दुई ठूलो परियोजना

सांसद खतिवडाको पहलमा ओखलढुंगामा यसै वर्ष दुई ठूलो परियोजना


ग्लोब नेपाल
432
Shares

काठमाडौं । चालू आर्थिक वर्ष ओखलढुंगामा दुई ठूलो पूर्वाधार विकास निर्माणको काम सुरु हुने भएको छ । यी दुई ठूला परियोजनाको श्रोत सुनिश्चित भएसँगै निर्माण कार्य सुरु हुन लागेको हो ।

यो परियोजनाअन्तर्गत सिद्धिचरण नगरपालिकामा पर्यटकीय झुलुङ्गे पुल र चम्पादेवी गाउँपालिकामा पलापु खानेपानी परियोजना निर्माण हुनेछ । यी दुई परियोजनाका लागि श्रोत सुनिश्चित भएको र निर्माण कार्य अगाडि बढ्ने सांसद रामहरि खतिवडाले जानकारी दिए ।

सांसद खतिवडाका अनुसार पलापु खानेपानी योजनाका लागि २२ करोड रुपैयाँ र हुलाक डाँडाबाट बीरेन्द्र पार्कसम्म झन्डै ४२५ मिटर लामो पर्यटकीय झुलुङ्गे पुल निर्माणका लागि ७ करोड २० लाख रुपैयाँ श्रोत सुनिश्चित भएको छ ।

चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीका अनुसार खानेपानी मन्त्रालयको जलवायु अनुकुलित बृहद् खानेपानी योजनाअन्तर्गत पलापु खानेपानी योजना निर्माण हुनेछ । यो योजना सम्पन्न भएपछि मानेभञ्ज्याङ गाउँपालिकाको १,२,३,५,६ र ७ तथा चम्पादेवी १,२ र ३ का जनतालाई खानेपानी सहज उपलब्ध हुनेछ । परियोजनाले २ हजार घरधुरी लाभान्वित हुनेछन् ।

यी दुवै योजना तयारी अवस्थामा भए पनि श्रोत सुनिश्तिता नभएर काम अगाडि बढेको थिएन । सांसद खतिवडाको पहलमा बजेट सुनिश्चित भएसँगै परियोजना अगाडि बढ्ने बताइएको छ ।

यसैगरी सिद्धिचरण नगरपालिका वडा नम्बर ११ र १२ को सीमाना हुलाक डाडादेखि १२ नम्बरको बिरेन्द्र पार्कसम्म पर्यटकीय झोलुङे पुल निर्माण हुनेछ । पुल निर्माणका लागि सात करोड रुपैयाँ अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भएको हो ।

झोलुङ्गे पुल निर्माणका लागि करोड २० लाख बजेट सुनिश्तिता भएको सांसद रामहरि खतिवडाले बताए । सरकारले आर्थिक वर्ष ०८१–०८२ का लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो । सात करोड रुपैयाँ लागतको (डिपीआर) पठाए पनि सरकारले यसलाई प्राथमिकतामा राख्न सकेको थिएन । पछिल्लो पटक सांसद खतिवडाको लामो मेहनतपछि आगामी आर्थिक वर्ष ०८२–०८३ मा ३ करोड ५५ लाख ०८३–०८४ मा ३ करोड ५५ लाख बजेट सुनिश्चित भएको छ ।