काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीले आइसिसी यु–१९ विश्वकपको पहिलो खेलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन। न त ब्याटिङले प्रभाव छोड्न सक्यो, न त बलिङले नै। परिणामस्वरूप नेपाल पाँच विकेटको फराकिलो हार बेहोर्न बाध्य भयो।
यो प्रतियोगितामा नेपालको लक्ष्य ठूलो थिएन। एसिया कपमा ऐतिहासिक जित हात पारेको यो टोलीको लक्ष्य बंगलादेशलाई पुनः पराजित गर्नु र स्कटल्यान्डमाथि जित निकालेर ‘सुपर सिक्स’ मा स्थान सुनिश्चित गर्नु थियो। तर, पहिलो खेलमा बंगलादेशसँगको पराजयले अब नेपाली टोलीलाई थप दबाब परेको छ।
सोमबार वाइएसडी युकेएम क्रिकेट ओभलमा दिउँसो १२:१५ बजे स्कटल्यान्डसँग हुने खेलले सम्भवतः नेपालको ‘सुपर सिक्स’ यात्रा कायम राख्ने या टुंग्याउने निर्णय गर्नेछ। स्कटल्यान्डले अघिल्लोपल्ट पनि विश्वकप खेलेको थियो। तर, अंकविहीन रहँदै समूहचरणबाटै बाहिरियो। यसपल्ट पनि स्कटल्यान्डले राम्रो सुरुआत गर्न सकेन।
गत संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई १० विकेटले पराजित गर्यो। समूह ‘डी’ मा नेपालसँगै स्कटल्यान्ड अंकविहीन छन्। अस्ट्रेलिया र बंगलादेश भने समान दुई अंक जोड्दै ‘सुपर सिक्स’ नजिक पुगिसकेका छन्।
नेपालले अंक तालिकाको शीर्ष स्थानमा रहेको अस्ट्रेलियासँग खेल्दै समूहचरणका खेल सक्काउने छ। यस्तो अवस्थामा आफ्नो लक्ष्य पूरा गर्न स्कटल्यान्डविरुद्ध नेपाल ‘गर या मर’को स्थितिमा देखिन्छ। यो खेल जित्नै पर्ने अवस्थामा नेपाल आफ्नो सम्पूर्ण क्षमताले मैदानमा उत्रन बाध्य हुनेछ।
प्रतिक्रिया