लमजुङमा अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी

लमजुङमा अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी



लमजुङ । लमजुङका किसानले यो वर्ष अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् ।

यस वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँच सयदेखि दुई हजार चार सय रुपैयाँसम्ममा अलैँची बिक्री भएको छ । त्यसैगरी गएको आर्थिक वर्ष २०८०/८१ मा किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड रुपैयाँ आम्दानी गरेका थिए ।

मिजारका अनुसार गएको वर्ष किसानले प्रतिकिलो एक हजार दुई सय रुपैयाँका दरले अलैँची बिक्री गरेका थिए । गएको वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो । सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् ।

मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुका स्थानीयवासीले मात्र यस वर्ष छ हजार सात सय केजी अलैँची बिक्री गरी एक करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताए ।

भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसूस गरेको किसानहरूको भनाइ छ ।

अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीशहर नगरपालिका, क्व्होलासोथार गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिएको छ ।