मेची भन्सार कार्यालयबाट चिया निर्यात ५५ प्रतिशतले बढ्यो

मेची भन्सार कार्यालयबाट चिया निर्यात ५५ प्रतिशतले बढ्यो



झापा । झापाको मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । ६ महिनामा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए ।

गएको आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा एक अर्ब ९० करोड पाँच लाख ६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात बढेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए ।

चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । यस्तै प्लाइउड, सिमेन्ट क्लिङ्कर र भेनियर सिटको निर्यात पनि बढेको छ । फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दा, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा भने कमी आएको छ ।

पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब ८४ करोड चार लाख रुपैयाँको मालवस्तु निर्यात भएको छ ।