क्यानले सन्दीपलाई गर्‍याे कारबाही

क्यानले सन्दीपलाई गर्‍याे कारबाही



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ ।

आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो । क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ ।

सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि पोखेका थिए । अम्पायरको निर्णयको आलोचना गर्नु क्यानको आचारसंहिताको उल्लङ्घन मानिन्छ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई तीन डिमेरिट अंक दिइएको हो । यस निर्णयअनुसार अब सन्दीपले क्यानको आयोजनामा हुने जुनसुकै प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन् ।

सन्दीपले सामाजिक सञ्जालमा समर्थन गर्ने प्रशंसकहरूप्रति आभार व्यक्त गरेका छन् । यद्यपि, यो प्रकरणपछि कतिपयले उनले सन्यास लिने अड्कलसमेत गरेका थिए ।

पछिल्लो समय उनले व्यक्तिगत कारणले मोबाइल नम्बर परिवर्तन गरेको र केही दिन ह्वाट्सएप खुला रहने जानकारी समेत दिएका छन् ।

लामिछाने हाल नेपालका सबैभन्दा चर्चित क्रिकेटर हुन् । अन्तर्राष्ट्रिय फ्रेञ्चाइज लिगमा उनको उपस्थिति र प्रदर्शनले उनलाई ग्लोबल स्टार बनाएको छ ।

तर, पछिल्लो समय विवाद र प्रदर्शनमा गिरावटका कारण उनले चुनौती सामना गरिरहेका छन् ।