यु १९ महिला टी–२० विश्वकप : मलेसियामाथि नेपालको सान्त्वना जित

यु १९ महिला टी–२० विश्वकप : मलेसियामाथि नेपालको सान्त्वना जित



काठमाडौं । आईसीसी यु १९ महिला टी–२० विश्वकपको प्लेअफमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले हराउदै सान्त्वना जित निकालेकाे छ ।

मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालकी कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन् । मलेसियाकी मर्स्या अब्दुल्लाहले ३ विकेट लिइन् ।

यसअघि जोहोर एकेडेमी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर ५ बलमा ४५ रनमा अलआउट भयो । मलेसियाकी नुरिमन हलिदले सबैभन्दा धेरै १५ रन बनाइन् । मलेसियाकी अन्य खेलाडीको दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी पूजा महतोले ४, रचना चौधरीले ३ तथा रिया शर्मा र सिमाना केसीले १/१ विकेट लिए ।

पूजा हालको अवस्थामा ९ विकेट लिँदै सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिएकी छिन् ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालको यो पहिलो जीत हो । मलेसियाले भने जीतविहीन रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यस्तै मलेसियाले भारत, श्रीलंका र वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।