भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आजदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा शुरू गरेको छ । यसअघि नगरपालिकाले टङ्कप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको थियो ।
आजदेखि आफ्नै भवनबाट सेवा शुरू गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । मेयर, उपमेयरको कार्यकक्ष र अन्य महत्त्वपूर्ण शाखाहरू नयाँ भवनमा सारेर सेवा शुरू भएको उनले बताए । भोलि र पर्सिको सार्वजनिक बिदामा सबै शाखाहरू सारेर नयाँ भवनबाटै सेवा सञ्चालन हुनेछ ।
नयाँ भवनमा ९२ वटा कार्यकक्ष, स्तनपान कक्ष, अपाङ्गमैत्री, ५ सय वटा गाडी अट्ने दुई तलाको भूमिगत पार्किङ, ८ जना क्षमता रहेको २ वटा लिफ्ट, ३ सय जना अट्ने सेमिनार हल, २ वटा बैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
नगरपालिकाले ६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा २० करोड ४१ लाख ५२ हजार रुपैयाँमा भवन निर्माण गरेको हो । मासिक १ लाख लाख २० हजार भाडा तिर्दै आएको नगरपालिकाले सङ्घीय सरकारको २ करोड, जिल्ला समन्वय समितिको ७५ लाख र बाँकी आफ्नै लगानीबाट भवन निर्माण गरेको हो ।
प्रतिक्रिया