पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि

पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि



काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।

लगातार चौथो पल्ट लिगको उपाधि जित्ने क्रममा त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–० गोलले हरायो ।

एपिएफले समग्रमा छैटौं पटक उपाधि जितेको हो । सन् २०१७-१८ पछि भने एपिएफले लगातार चार पटक उपाधि जित्न सफल भयो ।

एपीएफको जीतमा सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १/१ गोल गरे । एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेकाे पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ ।

एपीएफले अपराजित रहँदै उपाधि जितेको हो । महिला लिगमा शुरूमा १० वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउन्डपछि शीर्ष ५ टोली सुपर लिगमा प्रवेश गरेका थिए ।

एपीएफ शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो भएको थियो । पाँचौं भएको स्याङ्जाको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष ४ टोली प्लेअफ पुगेका थिए ।