भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेशिनबाट

भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेशिनबाट



चितवन । चितवनको भरतपुर अस्पतालले प्रयोगशालालगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैँले लिनसक्ने व्यवस्था गरेको छ ।

अस्पतालले एक मेशिन खरिद गरी बिरामीको परीक्षण रिपोर्ट आफैँ लिन मिल्ने व्यवस्था गरेको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले परीक्षण रिपोर्ट लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य गर्न मेशिन जडान गरिएको बताए । उनका अनुसार सात लाख रुपैयाँमा मेशिन खरिद गरी जडान गरेर सञ्चालनमा ल्याइएको छ ।

अस्पतालका इन्जिनियर चन्द्रमणि बस्यालले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको बताए । उनले भने, नमूना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्यूआर कोड स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्छन् ।

क्यूआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेशिनको परीक्षण सफल भएसँगै सेवा शुरू गरिएको उनले बताए । मेशिनबाट एक मिनेटमा तीन वटासम्म रिपोर्ट निकाल्न सकिने बस्यालले जानकारी दिए ।