अर्जुन ट्रफीमा बुटवललाई हराउँदै काठमाडौंकाे पहिलाे जीत

अर्जुन ट्रफीमा बुटवललाई हराउँदै काठमाडौंकाे पहिलाे जीत



धनगढी । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटमा क्रिकेट एक्सलेन्स सेन्टर काठमाडौंले पहिलो जीत हात पारेको छ । काठमाडौंले न्यु होराइजन बुटवललाई ६ विकेटले हरायो ।

बुटवलले दिएको १ सय १ रनको लक्ष्य काठमाडौंले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । काठमाडौंका शुभ कन्साकरले नटआउट ५६ रन बनाए । बुटवलका तुलबहादुर थापाले २ विकेट लिए ।

यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरमा ९ विकेट गुमाएर १ सय रन बनायो । बुटवलका प्रतीक श्रेष्ठले ३७ रन बनाए । काठमाडौंका राज शाह र सूर्य तामाङले ३/३ विकेट लिए ।

यो जीतसँगै काठमाडौं २ खेलमा २ अंकसहित समूह ‘बी’ को तेस्रो स्थानमा छ । बुटवल २ खेलमा २ अंकसहित दोस्रो स्थानमा छ । प्रतियोगितामा अहिले समूह ‘ए’ का बोस्टन क्रिकेट झापा र घोडाघोडी–११ सुख्खड खेलिरहेका छन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।