जसपाका केन्द्रीय सदस्यसहित १ सय कांग्रेसमा प्रवेश

जसपाका केन्द्रीय सदस्यसहित १ सय कांग्रेसमा प्रवेश


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका एक सय जना नेत तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

सभापति देउवाले खादा लगाउँदै उनीहरूलाई कांग्रेसको साधारण सदस्यता हस्तान्तरण गरेका थिए । कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्न सुझाव दिए ।

सभापति देउवाले भने, ‘पार्टीमा नयाँ पुरानाभन्दा पनि सक्रियता र योगदानका आधारमा पार्टीले मूल्याङ्कन गरेर अवसरको बाँडफाँट गरिने छ । तपाईंहरू सबै जना सक्रियपूर्वक पार्टीलाई बलियो बनाउन लाग्न अनुरोध छ ।’

रामेछापका जिल्ला सभापतिसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखालगायत विभिन्न जिल्ला नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउन समन्वय गरेका छन् । नवप्रवेशीहरूलाई स्वागत गर्दै राज्यमन्त्री तामाङले पार्टीमा कसैलाई अन्याय हुन नदिने भएकाले सङ्गठनलाई बलियो बनाउन आग्रह गरे ।

पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा पार्टी सभापति वर्मा लामालगायतको उपस्थिति रहेको थियो ।