अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा



काठमाडौं । काठमाडौंमा आगामी फागुन ५ देखि सुरू हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ ।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको टोलीमा दुई नयाँ खेलाडी समाबेस गरेर प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।

एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलोपटक चारदेश सम्मिलित महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।

टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् । त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् ।

मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् ।

डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । वाफमा खेलेकी रेनुका हमाल र चन्द्रा टोलीमा फर्किएका छन् ।

डिफेन्समा मनमाया सहित बिमला चौधरीलाई राखिएको छ ।

क्लब फुटबलका लागि बाहिर रहेका खेलाडीमध्ये एन्जिला नेपाल आइसकेकी छन् । रेखा र साम्बा आउन बाँकी छ ।