पाेखरा । पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लब २४औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा बाहिरिएको छ ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग ४–० गोलले पराजित भयो ।
जितसँगै ब्ल्याक बुल्स फाइनलमा प्रवेश गरेको छ । फाइनलमा ब्ल्याक बुल्सले शनिबार विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
थ्रीस्टारलाई हराउन ब्ल्याक बुल्सका कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सभ्काटजोन सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक/एक गोल गरे ।
कुभोनचेकले २५औँ मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । दोस्रो हाफमा तीन गोल थपेको ब्ल्याक बुल्सका लागि दोस्रो गोल असिलबेकले ५८औँ मिनेटमा गरे ।
त्यसपछि ६२औँ मिनेटमा सभ्काटजोन र ८७औँ मिनेटमा सइदजमोलले गोल गर्दै पाहुना टोलीलाई सजिलै फाइनलमा लगे । खेलभर ब्ल्याक बुल्सको दबाब झेलेको थ्रीस्टारले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।
प्रतिक्रिया