ओडिशाको घटनामा कूटनीतिक पहल गर्न राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण

ओडिशाको घटनामा कूटनीतिक पहल गर्न राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको ओडिशाकाे घटनामा कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपालकी प्रकृति लम्सालको ज्यान गएको घटनामा सत्यतथ्य छानबिन गरी न्यायका लागि कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएका हुन् ।

दाहालले यो कलेजमा अध्ययनरत अरू नेपाली विद्यार्थीहरूलाई अध्ययनका लागि सहज वातावरण बनाउन पहल गर्नसमेत आग्रह गरेका छन् । आजकाे आकस्मिक समयमा राष्ट्रियसभामा सांसदहरूले यस विषयमा कुरा उठाएपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद राधेश्याम पासवानले लम्सालको मृत्यु प्रकरणको विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् । उनले नेपाल सरकारले कूटनीतिक पहल गरेर अलपत्रमा परेका विद्यार्थीहरूको उद्धार गर्नुपर्ने बताए ।

यस्तै सांसद कृष्णबहादुर रोकायले नेपाली विद्यार्थी मृत्यु प्रकरणको विषयमा आवाज उठाउँदा अन्य नेपाली विद्यार्थीहरूमाथि दमन भइरहेको भन्दै आपत्ति जनाएका छन् । बैठकमा सांसदहरू मदनकुमारी शाह गरिमा, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, तुलसाकुमारी दाहाललगायतले यस घटनाबारे कडाइका साथ छानबिनको माग गरेका छन् ।