एपीएफले उज्बेकिस्तानकाे ब्ल्याक बुल्सलाई हरायाे

एपीएफले उज्बेकिस्तानकाे ब्ल्याक बुल्सलाई हरायाे



काठमाडौं । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले केपी ओली कप फुटबलमा विजयी शुरुआत गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज भएको उद्घाटन खेलमा एपीएफले ब्ल्याक बुल्सलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा गएको हो । यो जीतसँगै एपीएफ क्वाटरफाइनलमा पुगेको छ ।

प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन टोली, २ विदेशी र १ आयोजक गरी ९ वटा टोली सहभागी छन् । प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब, एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम (एनआरटी), संकटा क्लब, भुटानको ट्रान्सपोर्ट युनाइटेड, उज्बेकिस्तानको ब्ल्याक बुल्स र आयोजक टोली केपी ओली एफसी सहभागी छन् ।

क्वाटरफाइनलका खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने भएका छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ ।