बंक–नायल–बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता

बंक–नायल–बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता



कञ्चनपुर । बंक–नायल–बुडर सडक कालोपत्र गर्ने ठेक्का भएको चार वर्षपछि मात्रै निर्माण व्यवसायीले काम अगाडि बढाउने प्रतिबद्धता गरेका छन् । सडक निर्माणको ठेक्का लिएको सन्तोषी थेगिम जेभीले पूर्वाधार विकास कार्यालयमा लिखित रुपमा सडक कालोपत्र गर्ने प्रतिबद्धता पत्र बुझाएको हो ।

कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर साउदले थालेको दबाबमूलक कार्यक्रमपश्चात् बाध्य भएर निर्माण व्यवसायी सम्पर्कमा आएका हुन् । वडाध्यक्ष साउदले पाँच दिनदेखि सडक कालोपत्रको माग गर्दै सडकको प्रवेश बिन्दुमै टेबुल, कुर्सी राखेर वडाको सेवा प्रवाह गरी दबाब दिएका थिए ।

‘सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि दबाबमूलक कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भने, ‘पूर्वाधार विकास कार्यालयदेखि प्रदेशका कार्यालयसम्म पुग्यौँ, अश्वासन पाइने भए पनि काम अगाडि बढाइएन ।’

सडक धुलाम्मेसँगै खाल्डा हुँदा स्थानीय बासिन्दालाई आवतजावतमै समस्या थियो । ‘स्थानीयले पनि सडक कालोपत्र गराउनका लागि निकै दबाब दिँदै आएकाले रचनात्मक रुपमा आन्दोलनमा उत्रिने निर्णय गर्यौँ’, उनले भने, ‘कुनै पनि निकायलाई अप्ठ्यारो नपार्ने गरी रचनात्मक दबाबमूलक कार्यक्रम गरी सडकमै बसेर वडाको सेवा दिन थालेपछि चौतर्फी दबाबले निर्माण व्यवसायी सम्पर्कमा आएर काम अगाडि बढाउन सहमत भएका छन् ।’

सडक कालोपत्र गर्नका लागि निर्माण व्यवसायीले प्रतिबद्धतापत्रसहित कार्य गर्न थालेपछि तत्कालका लागि दबाबमूलक कार्यक्रम स्थगन गरी वडा कार्यालयबाटै सेवाग्राहीलाई सेवा दिन थालिएको वडाध्यक्ष साउदले बताए । उनका अनुसार निर्माण कम्पनीले प्रतिबद्धताअनुसार सडकमा कालोपत्र गर्नका लागि बेस राख्न गिटी फाल्न सुरु गरेको छ ।