यती एअरलाईसको एकै दिन सुर्खेत र धनगढी विमानस्थलमा परिक्षण उडान

यती एअरलाईसको एकै दिन सुर्खेत र धनगढी विमानस्थलमा परिक्षण उडान


ग्लोब नेपाल
108
Shares

काठमाडौं । अग्रणी वायुसेवा कम्पनी यती एअरलाईन्सले शनिबार एकै दिन सुर्खेत र धनगढी विमानस्थलमा सफलता पुर्वक परिक्षण उडान सम्पन्न गरेको एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् ।

यती एअरलाईन्सको ९ एन-एएमएन एटिआर ७२ विमान ले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदुरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलता पुर्वक परिक्षण उडान गरेको हो । नेपालगन्ज बिमानस्थलबाट उडेको यतीको विमान सुर्खेत बिमानस्थलमा आज दिउँसो १२:१७ मा अवतरण गरेको थियो भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो २ :४५ बजे धनगढी बिमानस्थलमा अवतरण गरेको थियो । परिक्षण उडानलाई एअरलाईन्सका प्रशिक्षक पाइलटहरु द्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए । उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एअरलाईन्सका प्राविधिक तथ प्रतिनिधिहरुको टोली साथमा गएका थिए ।

गत २० गते मंगलवार यती एअरलाईन्सले राजविराज विमानस्थलमा पनि सफलता पुर्वक परिक्षण उडान सम्पन्न गरिसकेको छ । यतीले उक्त विमानस्थलहरुमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानको रुपमा प्रयोग गर्ने उद्देश्यले परिक्षण उडान गरेको हो । हाल यी विमानस्थलहरुमा यतीले उडान गर्ने गरेको छैन, परिक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने तयारी गरेको छ ।

यात्रुहरुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य लिएको यती एअरलाईनका एकाउन्टेवल म्यानेजर तथा प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिए । उनले यी विमानस्थलहरुमा हुने नियमित उडानसँगै यती एअरलाईन्सप्रतिको यात्रुहरुको विश्वास तथा माया अझ बढ्ने धारणा व्यक्त गरे ।

यती एअरलाईन्समा एशियन लाईफ ईन्स्योरेन्सको प्रवेश संगै आक्रामक बजार नीति लिएको, यात्रु सुबिधाप्रति ध्यान दिएको र उडान सुरक्षाप्रति जिम्मेवार पुर्वक अघि बढेको कारण यात्रुहरुको विश्वास बढेको छ भने एअरलाईन्स पुरानै लयमा फर्किसकेको छ। यतीमा हाल यात्रुहरुको अकुपेन्सी दर ८५-९० प्रतिशत सम्म रहेको छ । यती ले ७ वटा एटिआर ७२ विमान मार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थललगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने निकट भविष्यमा थप विमानमार्फत् सेवा बिस्तार गर्ने नीति लिएको छ ।