काठमाडौं । गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ । फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयलाई उक्त स्वीकृति दिएको हो ।
परराष्ट्र मन्त्रालयले तर्जुमा गर्ने विधेयकमा गैरआवासीय नेपाली संघको दर्ता हट्ने बताइएको छ । सम्भवतः परराष्ट्र मन्त्रालयबाट कुनै पनि संघसंस्था दर्ता गर्न नमिल्ने व्यवस्था विधेयकमा हुनेछ । सरोकारभन्दा बाहिरको विषयले मन्त्री, मन्त्रालय र कर्मचारीमाथि तनाव थोपरिएको हुनाले एनआरएनएको दर्ता हटाउन दबाब सिर्जना भएको परराष्ट्रस्रोतको भनाइ छ ।
परराष्ट्र मन्त्रालयबाट एनआरएनएको दर्ता झिक्ने विषयमा काहिँकतै औपचारिक छलफल भएको छैन । तर संघको विवादका विषयमा छलफल हुँदा कर्मचारीले तपाईंहरुको दर्ता यहाँबाट झिक्छौ भनेर पटक पटक धम्क्याइसकेका छन् । परराष्ट्रबाट एनआरएनएको दर्ता झिक्नका लागि नयाँ विधेयक तर्जुमा उपयुक्त अवसर भएको बताइएको छ । यही अवसरलाई सदुपयोग गरेर परराष्ट्र मन्त्रालयबाट एनआरएनएको दर्ता झिकिने छ ।
नागरिकता वितरण नहुँदा बनेको ऐनलाई संशोधन गर्न परराष्ट्र मन्त्रालयले नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति लिएको हुनसक्ने गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले बताए । सरकारले एनआरएनएलाई नागरिकता वितरण गरेको छ, तर एनआरएनले प्राप्त गरेको नागरिकको अधिकार कतै उल्लेख छैन ।
अब बन्ने ऐनमा एनआरएनएले प्राप्त गरेको नागरिकको अधिकारबारे व्याख्या आउन सक्ने डा. शर्माले बताए । एनआरएनए नागरिकले राजनीतिक अधिकारबाहेक प्राप्त गर्ने सांस्कृतिक, धार्मिक र आर्थिक अधिकार प्राप्त ऐन बन्नु अहिलेको आवश्यकता हो । विधेयकमा एनआरएनएले प्राप्त गर्ने नागरिकको व्याख्या आउने र संसदीय समितिमा दफावर छलफल हुनसक्ने उपाध्यक्ष डा. शर्माले बताए ।
यतिबेला आन्तरिक विवादले गैरआवासीय नेपाली संघ छिन्नभिन्न भएको छ । शेष घलेले नेतृत्व गरेको उच्चस्तरीय समिति र ११ औं महाधिवेशनले निर्वाचित गरेको पदाधिकारीबीचको विवादमा सर्वोच्च अदालतबाटै दुई खालको फैसला आएपछि गैरआवासीय नेपाली संघको विवाद झनै अन्योलतिर धकेलिएको छ ।
दुई दशक अघि प्रवाशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ स्थापना भएको थियो । आन्तरिक विवादले पछिल्लो समय संघको साख गिर्दै गएको बताइएको छ ।
यूरोप क्षेत्रीय सम्मेलनमा उद्योगमन्त्री भण्डारी सहभागी हुने
यसैबीच चैत १५ गतेदेखि १७ गतेसम्म माल्टामा आयोजना हुने १६ औं गैरआवासीय नेपाली संघ युरोपी क्षेत्रीय सम्मेलनमा सहाभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएको छ ।
प्रतिक्रिया