नीलम ढुंगाना सम्भावित नेपाल राष्ट्र बैंकको १८ औं गर्भनर

नीलम ढुंगाना सम्भावित नेपाल राष्ट्र बैंकको १८ औं गर्भनर



काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारी १० दिन घर विदा लिएपछि आजबाट कार्यालय गएनन् । उनको ५ वर्षे कार्यकाल चैत २४ गते समाप्त हुँदैछ । कार्यकाल सकिन १ महिनाअघि विदा लिने परम्परा अन्त्य गर्दै अधिकारी आजबाट १० दिनका लागि घर विदामा बसेका हुन् ।

उनी विदामा बसेसँगै नयाँ गर्भनर चयनको प्रकृया अघि बढेको छ । गत फागुन २९ गते नै अर्थमन्त्री विष्णु पौडेल, पूर्वगर्भनर विजयनाथ भट्टराई र अर्थविद् विश्वनाथ पौडेल सम्मलित गर्भनर सिफारिस समिति बनेको छ । भट्टराई र पौडेल दुवै कांग्रेस निकट हुन् । चितवनका पौडेल परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको व्यवसायिक पार्टनरसमेत हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार, सिफारिस समितिले ३ योग्य उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ, जसबाट सरकारले एक जनालाई गभर्नर नियुक्त गर्नेछ ।

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर बन्ने दौडमा एक दर्जनभन्दा बढी आकांक्षीहरू छन् । वर्तमान सत्ता गठबन्धन नेकपा एमाले र नेपाली कांग्रेस भएकाले ती दल निकट व्यक्तिहरू दौडमा अगाडि देखिएका छन् । यद्यपि एमालेको भागमा गर्भनर परेको हुनाले प्रधानमन्त्री केपी शर्मा ओलीको आर्शिवाद महत्वपूर्ण हुन् बताइएको छ ।

गर्भनर अधिकारी विदामा बसेपछि कार्यबाहक गर्भनरको जिम्मेवारी पाएकी नीलम ढुंगाना पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नजिक ठानिएको छ । महिलालाई कार्यकारी प्रमुख बनाउन वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली उत्साहित देखिन्छन् । पूर्वराष्ट्रपति भण्डारीको आग्रह र महिलालाई कार्यकारी प्रमुख बनाउने कीर्तिमान राख्न प्रधानमन्त्री ओलीले ढुंगानालाई नै गर्भनर बनाउने सम्भावना बलियो छ ।

प्रधानमन्त्री ओलीकै पालामा लीलादेवी गड्तौला मुख्यसचिव बनेकी थिइन् । राष्ट्र बैंकमा इतिहासमा पहिलो डिपुटी गर्भनर बनेकी ढुंगानालाई गर्भनर बनाउन प्रधानमन्त्री सकरात्मक रहेको समाचारस्रोतको दाबी छ । संयोग के छ भने गड्तौला कार्यबाहक मुख्यसचिव थिइन ओली प्रधानमन्त्री भएपछि मुख्यसचिव बनेकी हुन् । अहिले ढुंगाना पनि कार्यबाहक गर्भनर छिन् । त्यसैले अब राष्ट्र बैंकको गर्भनर पनि महिलालाई बनाउने सक्ने सम्भावना बलियो रहेको बताइएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट कांग्रेस समर्थक मानिन्छन् । अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र केपी शर्मा ओली निकट व्यक्ति मानिन्छन् । यस्तै, एमाले समर्थक पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, राष्ट्रबैंक सञ्चालक रवीन्द्रनाथ पाण्डे, तथा प्रभु बैंकका सीईओ अशोक शेरचन, कांग्रेस समर्थक नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना, पूर्वअर्थ सचिव रामेश्वर खनाल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको पनि गर्भनर बन्न सक्ने सम्भावित सूचिमा नाम छ ।

गर्भनर सिफारिस समितिमा कांग्रेस हाबी भएको हुनाले नीलम ढुंगानाको नाम गर्भनरको लिस्टबाट हट्नसक्ने सम्भावना त्यत्तिकै बलियो छ । ढुंगानाको नाम सम्भावित गर्भनरमा सिफरिस भए पनि पूर्वराष्ट्रपति भण्डारी निकट भएकै कारण उनको नाम हट्ने एकथरिको बुझाइ छ । कांग्रेस हाबी भए नविल बैंकको सिईओ ज्ञानेन्द्र ढुंगाना १८ औं गर्भनर बन्ने लगभग निश्चित जस्तै छ । ‘यो पूर्वनिर्धारित सिटिङ हो भनेर बुझ्दा हुन्छ’, राष्ट्र बैंकका एक उच्च अधिकृतले ग्लोब नेपालसँग भने ।