काठमाडौं । अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ ।
अमेरिकाको वैदेशिक सहायता सम्बन्धी समीक्षा चलिरहेकै बेला एम.सि.सी. नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति दिएको एम.सि.ए नेपालले जनाएको छ । अगाडि बढाउन अनुमति दिइएका कार्यमा खरिद कार्यहरू र कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्य रहेको एम.सि.ए. नेपालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
‘एमसिए–नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिता प्रति प्रतिबद्ध रहेको छ’ सूचनामा जनाइएको छ । त्यस्तै, सूचनामा अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गरिरहेको र आफूबाट हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको पनि उल्लेख गरिएको छ ।
यसअघि अमेरिकी सहायता संस्था एम.सि.सी.ले गत फागुन २ गते अर्थ मन्त्रालयलाई इमेल मार्फत ९० दिनका लागि भुक्तानी रोकिएको जानकारी गराएको थियो । नेपालमा पनि प्रसारण लाइन निर्माण र सडक पूर्वाधार स्तरोन्नतिका लागि ५० करोड डलर अनुदान उपलब्ध गराउने गरी २०७४ भदौ २९ गते नेपाल सरकार र अमेरिकी सरकारबीच कम्प्याक्टमा सम्झौता भएको थियो ।
नेपाल सरकारले १९७ मिलियन डलर योगदान गर्ने गरी परियोजना मार्फत तीन सय किलोमिटर विद्युत् प्रसारण लाइन, सबस्टेसन निर्माण र ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्यसहित सम्झौता गरिएको थियो ।
प्रतिक्रिया