ओखलढुंगा चिशंखुगढी गाउँपालिका वडा नं. ४ मा श्री जाल्पा माध्यमिक विद्यालय (हाल उच्च मावि) छ । औपचारिक रुपमा २०१५ सालमा स्थापना भएको उक्त विद्यालय जुद्धशमशेरका पालामा भाषा पाठशालाको रुपमा थियो । स्थानीय भीमबहादुर कार्कीले जुद्धशमशेरबाट हुकुम प्रमांगी गरेर ल्याएपछि घरमै विद्यार्थी भेला पारेर पढाउन अनुमति पाएका थिए । त्यसबेला जुद्धशमशेरले देशभरि १ सय ५७ स्थानमा यसरी पढाउन पाउने अनुमति दिएका थिए । त्यसमध्येको एउटा श्री जाल्पा मावि पनि हो ।
त्यसयता सुनकोशीमा धेरै पानी बग्यो । जाल्पा माध्यमिक विद्यालयले पनि धेरै आरोह अवरोह झेल्यो । अहिलेका धेरै डाक्टर, इन्जिनियर, नेता र व्यवसायीले त्यही विद्यालयबाट कखरा चिने । त्यहिँको सुवासिलो माटोमा टेकेका पाइलाहरु सम्झनामा सीमित गरेर संसारभरि फैलिए ।

दयनिय किन नहोस् सम्झना सबैलाई सधैं प्रिय लाग्छन, तर यथार्थ निक्कै कठोर हुँदो रहेछ भन्ने कुरा पनि सँगै जोडिएर आउँछ । यस्तै भुल्न नमिल्ने यथार्थ जाल्पा माविमा हालै घटेछ । भलिबल खेल प्रतियोगितामा जाल्पा माविका विद्यार्थी भाइबहिना अब्बल निस्के । अब्बल विद्यार्थीलाई अझ प्रेरित गर्नुपर्छ भन्ने भावना विद्यालय व्यवस्थापन परिवार, शिक्षक र अभिभावकमा जाग्यो ।
के कुराले प्रोत्साहन गर्ने त ? आश्वासन मात्र दिने कि पुरस्कार पनि भन्ने विषयमा छलफलसमेत चल्यो । आश्वासन मात्र दिने हो भने मीठो बोल्ने एकजना अभिभावकलाई १० मिनेट भाषण गर्न लगाउ, पुरस्कार दिने हो भने केही नगद जुटाउ भन्ने निष्कर्षमा उनीहरु पुगे ।

एक पटक समस्या टारेर समाधान हुँदैन, अभिछिन्न चल्ने यस्ता संस्थाका लागि दीर्घकालीन समाधान खोज्न बुद्धिमानी हुन्छ भन्ने निष्कर्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कार्कीले निकाले । यसैका आधारमा सामाजिक सञ्जालमार्फत् यस विद्यालयमा पढ्ने पूर्वविद्यार्थीहरु र स्थानीय बुद्धिजीवीहरु यसको जुत्ति निकाले । विद्यार्थी कल्याणकारी कोष स्थापना गरेर सबैले सामथ्र्यको सहयोग गर्ने अठोट गरे । यसैको फलस्वरुप विश्वभर छरिएका पूर्वविद्यार्थी, शिक्षक र अभिभावकबाट उत्साहजनक रुपमा सहयोग जुट्न थालेको सामाजिक सञ्जालका अभियान्त राजन कार्कीले बताए ।
सबैको हारगुहारमा विद्यालयको भौतिक पूर्वाधार पनि राम्रो छ । एसियाली विकास बैंकले बनाइ दिएको स्कुल भवन नमुनायोग्य छ । भवन निर्माणका लागि थोरै ध्यान पु-याएका भए खेल मैदानका लागि पर्याप्त जग्गा उपलब्ध हुने अध्यक्ष कार्कीले बताए । यद्यपि भौतिक पूर्वाधारमा कुनै गुनासो छैन ।
विद्यालयमा जेहनदार विद्यार्थीका लागि दुईवटा छात्रावृत्ति छ । सहिद केशव कोइरालाको नाममा उनकी छोरी समीता कोइरालाले स्थापना गरेको र प्रा. कुमारबहादुर कार्कीले आफ्ना मातापिताको नाममा स्थापना गरेको छात्रावृत्ति पढाइमा मेहनत गर्ने विद्यार्थीले प्राप्त गर्छन् । पढाइमा तेज विद्यार्थीबाहेक अन्य विधाका विद्यार्थीका लागि यो छात्रावृत्ति उपयोगमा आउँदैन ।

खेलकुद, मनोरञ्जन र अन्य विधाका विद्यार्थीलाई प्रेरित गर्न श्री जाल्पा मावि विद्यार्थी कल्याण कोष २०८१ स्थापना गरिएको छ । यो कोषमा १० लाख रुपैयाँभन्दा बढी जम्मा भए त्यसको ब्याजबाट विद्यार्थीलाई हौसला हुने काम गर्न सकिने अध्यक्ष कार्कीले बताए । पूर्व विद्यार्थी समाज, शिक्षक, नेतृत्व वर्ग, कर्मचारी, समाजसेवी, अभिभावकलगायत सम्पूर्ण शुभचिन्तकको सहयोगबाट मात्रै लक्ष्यमा पुग्न सकिने उनले बताए ।

विद्यार्थीको प्रेरणबाट बनेको कल्याणकारी कोषमा उत्साहजनक सहभागिता, देश–विदेशबाट आर्थिक सहयोग आउन थाल्यो । सामूहिक सोचबाट सुरु भएको कोषमा पूर्वविद्यार्थी, अविभावक, स्थानीय र शुभ चिन्तकहरुबाट अपार मायाका साथ विद्यालयका लागि आर्थिक सहयोग जुट्न थाले पछि विद्यालयका प्रध्यानाध्यपक हेमकुमार खडकाले खुसी व्यक्त गरेका छन् । उनले भने, ‘हामी सबैप्रति अभारी छौं, कोषमा जम्मा भएको नगद पारदर्शी ढंगले विद्यार्थी कल्याणका लागि प्रयोग हुनेछ ।
‘सहयोग निरन्तर जारी छ, एक दिन पुगिन्छ भन्ने सकरात्मक सोचका साथ अघि बढेका छौं’ उनले भने, जसको मानसपटलमा जाल्पा मावि आउँछ, उहाँहरुलाई यो पुन्य काममा सहभागी भएर अपनत्व ग्रहण गर्न आग्रह गर्दछु ।’
विद्यालयको वार्षिकोत्सव असार ८ गते परेको छ । यस अवसरमा यो पुन्य काममा सहभागी हुनेहरुलाई सम्मान गर्ने योजना रहेको अध्यक्ष कार्कीले कुराकानीका क्रममा सुनाए । कार्यक्रम सफल होस् शुभकामना !
प्रतिक्रिया