नयाँ एनआरएनए बनाउन पूर्वअध्यक्ष शेष घलेद्वारा आह्वान

नयाँ एनआरएनए बनाउन पूर्वअध्यक्ष शेष घलेद्वारा आह्वान


ग्लोब नेपाल
297
Shares

लिस्बन (पोर्चुगल)- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं सङ्घका पूर्वअध्यक्ष डा. शेष घलेले सङ्घको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा मङ्गलबार राजधानी लिस्बनमा आयोजित बृहत् अन्तरक्रियामा संयोजक घलेले ३ महिना अगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा सङ्घको महाधिवेशन हुने बताएका हुन् । घलले भने, “तोकिएको मितिमा महाधिवेशन हुन्छ, कुनै पनि हालतमा मिति परिवर्तन हुँदैन ।”

उनले नयाँ संरचनासहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न सबै अभियन्ताहरुलाई आह्वान गरे । आगामी मे महिनामा काठमाडौंमा हुने महाधिवेशनमा सहभागी भइ एकताको महाधिवेशनलाई सफल पार्न घलले आग्रह गरे ।

पूर्वअध्यक्ष एवं उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले सहमतिको पालना नगर्दा संस्थाको यो हविगत भएको बताए । उनले सर्वोच्च अदालतको परमादेश पालना गर्नुको विकल्प नरहेको बताए ।

सङ्घका पूर्वअध्यक्ष एवं उच्चस्तरीय समितिका अर्का सदस्य विनोद कुँवरले सर्वोच्चको फैसलालाई टेकेर तयार गरिएको कार्यविधि अनुरूप एकताको महाधिवेशन तयारी भइरहेको बताए ।

सङ्घका अध्यक्ष राजेन्द्रकुमार शर्माले सङ्घलाई एकताबद्ध बनाउने जिम्मेवारी सबै अभियन्ताहरुको काँधमा आएको उल्लेख गर्दै उक्त जिम्मेवारी मिलेर पूरा गर्नुपर्नेमा जोड दिए । सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ मा काठमाडौँमा सङ्घको एकता महाधिवेशनको मिति तय गरिसकेको छ ।