काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्दै छन् ।
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो १:३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले भ्रमणको सबै आवश्यक तयारी पूरा गरिसकेको जनाइएको छ । प्रधानमन्त्री ओलीले भ्रमणका सम्बन्धमा हिजोको सङ्घीय संसद्का दुवै सदनलाई औपचारिक जानकारीसमेत गराइसकेका छन् ।
भोलि चैत २० गते प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण सुरु हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनुहुनेछ । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।
प्रतिक्रिया