पोखरा । सञ्चालनमा आएको २ वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आजदेखि नियमित अन्तरराष्ट्रिय उडान सुरु भएको छ । चीनको ल्हासाबाट १०७ सातजना यात्रुसहित हिमालय एयरलाइन्सले नियमित उडान गर्दै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा कम्पनी हिमालय एयरलायन्स बनेको छ ।
पहिलो नियमित अन्तरराष्ट्रिय उडानमार्फत पोखरा अन्तरराष्ट्रिय विमानस्थल आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छेन सङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरेका थिए ।
हिमालय एयरलायन्सले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान थालेको हो । यस अघि पोखरा विमानस्थलबाट सिचुवान एयरलायन्सले पहिलो व्यवसायिक चाटर्ड उडान सुरु गरिसकेको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । विमानस्थल सञ्चालनमा आए पनि अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन ।
यात्रुहरूलाई स्वागतपछि विमानस्थलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो नियमित उडान सुरु हुनु आफैँमा महत्त्वपूर्ण भएको बताए । उनले यसको निरन्तरताका लागि प्रदेश सरकारका तर्फबाट साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सुुन्दर नगर पोखरामा सुरु भएको व्यवसायिक उडानले निरन्तरता पाउने विश्वास व्यक्त गरे । नेपाल र चीन बीचको ७० वर्षको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्ने उनले विश्वास व्यक्त गरे ।
पोखरेली जनतालाई पहिलो निर्धारित व्यावसायिक उडानका लागि बधाई दिदै उनले निर्धारित अन्तरराष्ट्रिय उडानको सपना हिमालयले अब वास्तविक बनाएको उल्लेख गरे ।
हिमालय एयरलायन्सका अध्यक्ष झोउ एनयोङले ऐतिहासिक उडान हिमालय एअरलाइन्स् र नेपालको उड्डयन उद्योगका लागि ठूलो सफलता भएको बताए । यसले पोखरालाई प्रमुख अन्तरराष्ट्रिय प्रवेशद्वारको रूपमा स्थापित गर्दै क्षेत्रीय हवाई सम्पर्कलाई प्रवर्द्धन गर्ने बताए ।
उनले यो केवल नयाँ मार्ग मात्र नभई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा व्यापार र सांस्कृतिक आदानप्रदानका नयाँ अवसरहरू सिर्जना गर्ने महत्त्वपूर्ण पहल भएको धारणा राखे ।
हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले नयाँ रुटप्रति उत्साह व्यक्त गर्दै हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र वार्षिक १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने भएको बताए ।
हिमालय एअरलाइन्स्ले सधैँ चीनमा नयाँ गन्तव्यहरू खोज्दै आएको र नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको उल्लेख गर्दै उनले यो नयाँ रुटको सुरुवातसँगैै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभव सिर्जना गर्ने लक्ष्य राखेको बताए ।
प्रतिक्रिया