काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदी एक डिनरमा भेटिएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनअघि बिहीबार साँझ बैंककमा आयोजित डिनरमा उनीहरु भेटिएका हुन् ।
ओली गत असारमा अन्तिममा प्रधानमन्त्री भएपछि दुई छिमेकी मुलकका प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भएको छैन । ओलीले औपचारिक र अनौपचारिक माध्यममार्फत आफूलाई भारत भ्रमणमा बोलाउन आग्रह गरे पनि भारतीय पक्ष सकारात्मक नदेखिँदा भ्रमण हुन सकेको छैन ।
यसअघि ओली र मोदीबीच संयुक्त राष्ट्रसंघीय महासभामाका दौरान अमेरिकाको न्यूयोर्कमा गत असोज पहिलो साता साइडलाइन भेटवार्ता भएको थियो ।
यस्तै मोदी र ओलीसँगै बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस पनि डिनरमा देखिएका छन् । बंगलादेशमा विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेका बेला गत अगष्टमा देश छाडेर भागेकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई भारत सरकारले शरण दिएर राखेको छ ।
मोदी र युनुसबीच पनि यो पहिलो भेट हो । यसैबीच प्रधानमन्त्री ओली र मोदीबीच आज साँझ साइडलाइन भेटवार्ता तय भएको छ ।
प्रतिक्रिया